काठमाडौँ । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आजदेखि सुरु भएको छ ।
बलाधिकृत रथी प्रदीप जंग के.सी.ले आज उक्त तालिमको शुभारम्भ गरेका हुन् । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा बलाधिकृत के.सी.ले तालिमबाट सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली सेनाले जनाएको छ ।

कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरूको सहभागिता रहेको यस तालिम नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म जम्मा ३७५ जना अधिकृत प्रशिक्षित भएका छन् ।







