काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कदम कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सरकारबाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीको कार्यान्वयनका लागि तत्काल कार्ययोजना अघि बढाउने निर्णय गरेको हो।
छलफलका क्रममा वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृतिमा प्रयोग हुँदै आएको टोकन प्रणाली हटाएर आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरु गरिएको जानकारी दिइयो। यस कदमले श्रमिकलाई समय र प्रक्रियागत झन्झटबाट राहत पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, पूर्व–प्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने योजना अघि सारिएको छ। यस अन्तर्गत श्रव्य–दृश्य सामग्री तयार गरी अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन न्यूनतम मापदण्ड निर्धारण गर्ने, श्रमिकका लागि न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने तथा कार्यस्थलमा सुरक्षा र स्वास्थ्यसम्बन्धी अवस्था सुधार गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।







