काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रियामा प्रमुख दलहरूको रणनीति क्रमशः स्पष्ट हुँदै गएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार संसद्मा सत्तारूढ पक्षको स्पष्ट संख्यात्मक बल रहेको र सभामुख पदलाई साझा तथा निष्पक्ष भूमिकाको रूपमा हेर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। उनले संसद् सञ्चालनको मर्यादा र सन्तुलन कायम राख्ने दायित्व सभामुखमा केन्द्रित हुने भएकाले प्रतिस्पर्धाबाट बाहिर रहने निष्कर्षमा पार्टी पुगेको स्पष्ट पारेका छन्।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अन्तिम टुंगो लगाइसकेको छैन। पार्टीभित्र यसबारे छलफल जारी रहेको जानकारी गुरुप्रसाद बरालले दिएका छन्।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक सहमतिपछि डोलप्रसाद अर्याललाई सभामुख पदका लागि अघि सारेको छ । उनको उम्मेदवारी दर्ता भइसकेको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा उक्त दलको एकल बहुमत रहेको परिप्रेक्ष्यमा अर्यालको पक्षमा परिणाम जाने आकलन गरिएको छ। यस्तो अवस्थामा सभामुख चयन प्रक्रिया औपचारिकतामै सीमित रहने सम्भावना देखिएको छ।







