काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत एक कर्मचारीलाई ठगी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
मुद्दा शाखामा कार्यरत सुब्बा निरज परियारलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउपछि मंगलबार अदालतमा उपस्थित गराइएकोमा अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले परियारलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा पक्राउ गरिएको पुष्टि गरे।
प्रहरीका अनुसार हाल उनीमाथि ठगी र साइबर अपराधसम्बन्धी प्रावधान अन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको छ। सम्बन्धित घटनाको सत्य तथ्य पुष्टि गर्न कानुनी प्रक्रिया अनुरूप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







