काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको टोलीबीच सूचना प्रविधि क्षेत्रको विकास र डिजिटल रूपान्तरणसम्बन्धी विषयमा छलफल भएको छ।
मन्त्रालयमा आयोजित उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। छलफलका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयन, सूचना प्रविधिमा पहुँच विस्तार, डाटा व्यवस्थापन तथा सुशासन अभिवृद्धिका विषयहरू केन्द्रमा रहेका थिए।
मन्त्री तिमिल्सिनाले देशको सामाजिक तथा आर्थिक विकासमा विश्व बैंकबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उक्त परियोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले हालको सरकार गठनपश्चात पूर्वाधार निर्माण र सेवा प्रवाहमा परिणाममुखी सुधारको पहल थालिएको उल्लेख गर्दै आयोजनाहरू कार्यान्वयनका क्रममा देखिएका अवरोध समाधानमा सरकार केन्द्रित रहेको बताए।
साथै अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा सञ्चालनमा रहेका परियोजनाहरूको उपलब्धि निकट भविष्यमै देखिने विश्वास व्यक्त गरिएको छ।







