काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले सोमबार दिउँसो बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षभित्र आ–आफ्ना क्षेत्रमा गर्न सकिने र गर्नुपर्ने कामहरू प्रस्तुत गर्न सांसदहरूलाई भनेका थिए । सोही अनुसार, देशैभरका सांसदहरूसँग प्रदेशगत रूपमा प्रधानमन्त्री शाहले छुट्टाछुट्टै छलफल गरेका हुन् ।
सो क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलालले बाँदर नियन्त्रण, गुठी जग्गा पीडित किसानका समस्या, मेलम्ची र इन्दावती नदी किनारका बस्तीमा बाढीको जोखिम, मेलम्ची–हेलम्बु सडक निर्माण, स्वास्थ्य बीमा लगायतका विषयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका जनताहरू बाँदरको समस्याबाट ग्रसित भएको बताउँदै तत्काल बाँदर नियन्त्रण विधेयक तत्काल निर्माण गर्नुपर्ने उनले बताएका थिए ।
त्यस्तै, मेलम्ची र इन्द्रावती नदी किनारका बाढीको अति उच्च जोखिममा रहेका बस्तीहरूको तत्काल संरक्षण गर्नुपर्ने पनि उनले प्रधानमन्त्री शाहसमक्ष बताएका छन् ।
‘९२ करोडको स्टिमेट सहित स्रोत सहमतिको लागि अर्थ मन्त्रालयमा पेश भएको मेलम्ची हेलम्बु सडक निर्माणको स्रोत सहमति भई पुन ठेक्का हुनुपर्ने,’ उनले प्रधानमन्त्रीसँगको छलफलका क्रममा भनेका छन् ।
प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ-आफ्ना क्षेत्रका समस्याबारे सचिवालयमा जानकारी गराउन पनि भनेका छन् । त्यस्तै, सम्बन्धित मन्त्रालयमा समस्याहरू पठाउन पनि उनले भनेका छन् ।







