काठमाडौँ । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरूमा आइतबारसमेत नियमित पठनपाठन सञ्चालन हुने निर्णय गरिएको छ।
नगर कार्यपालिकाको हालै बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयलाई पूर्वनिर्धारित शैक्षिक क्यालेण्डर अनुसार सञ्चालनमा राख्ने निर्णय गरेको जनाएको छ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने तथा नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने विषयमा परिपत्र जारी गरेको थियो।
तर स्थानीय स्तरमा विद्यालय सञ्चालक, विभिन्न परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा निजी विद्यालय सम्बद्ध संघ-संस्थाहरूले दुई दिन बिदा कायम गर्दा शैक्षिक दिन घट्ने र पाठ्यक्रमले तोकेको क्रेडिट आवर पूरा गर्न कठिन हुने भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका थिए।
यसैगरी, जिल्ला अभिभावक संघले समेत शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु गर्नुपर्ने र आइतबार पठनपाठन सञ्चालन गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक वर्षमा २२० कार्य दिन सुनिश्चित गर्नुपर्ने प्रावधान तथा सर्वोच्च अदालतको हालैको आदेशलाई समेत आधार मानेर निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले स्थानीय आवश्यकता, सरोकारवालाको सुझाव र कानुनी व्यवस्था अनुरूप विद्यालय सञ्चालनसम्बन्धी निर्णय गरिएको स्पष्ट पारिएको छ।







