काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हिमाली क्षेत्रका औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग र व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।
काठमाडौँमा आयोजित ‘जंगली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जैविक विविधताको संरक्षण र स्थानीय समुदायको आर्थिक समृद्धिका लागि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताइन् ।
हिमाली प्राकृतिक सम्पदाले नदी प्रणाली, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याएको उल्लेख गर्दै उनले औषधीय तथा सुगन्धित वनस्पति र च्याउको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राखिन् ।
मन्त्री चौधरीले भावी पुस्ताका लागि प्राकृतिक सम्पदाको संरक्षण, महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि न्यायोचित आर्थिक अवसर र कानुनसम्मत तथा पारदर्शी क्षेत्रीय अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्थानीयस्तरमै गरी त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले संरक्षणका प्रयासलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।
हिमाली जैविक विविधताको संरक्षणलाई वातावरणीय विषयमा मात्र सीमित नराखी जलवायु उत्थानशीलता, क्षेत्रीय ऐक्यबद्धता, समावेशी विकास र आपसी विश्वाससँग जोड्नुपर्ने मन्त्री चौधरीले बताइन् ।
जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारका चुनौती कुनै एक मुलुकको प्रयासबाट मात्र समाधान गर्न नसकिने उल्लेख गर्दै उनले प्रत्येक मुलुकको सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्ने बताइन् ।






