काठमाडौँ । सार्वजनिक सेवामा रहँदा आर्जन गरेको डेढ करोड भन्दा बढी सम्पत्तिको स्रोत नखुलेको आरोपमा एक इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया (बारा)का तत्कालीन निमित्त कार्यालय प्रमुखसमेत रहेका आठौँ तहका इन्जिनियर किशोरप्रसाद यादवलाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दर्ता गरेको हो।
आयोगले सार्वजनिक गरेको अभियोग पत्र अनुसार यादवले सेवामा प्रवेश गरेयता जाँच अवधिसम्म वैध आम्दानीको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न सकेका छैनन्।
उनको आय-व्यय विश्लेषण २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिमा गरिएको बताइएको छ।
उक्त अवधिमा यादव तथा उनको परिवारको वैध आम्दानी ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ देखिएको छ। तर, जग्गा खरिद, आवास निर्माण, शेयर लगानी, सवारी साधन खरिद तथा अध्ययन लगायतका शीर्षकमा कुल ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ।
अनुसन्धानका क्रममा शंकास्पद रूपमा आर्जित सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखिएको देखिएकाले सम्पत्ति जफतको मागसहित उनलाई पनि मुद्दामा प्रतिवादी बनाइएको आयोगले जनाएको छ।









