काठमाडौँ । मेरिङदेन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार र व्यवहारिक शिक्षालाई जोड दिँदै प्रत्येक विद्यालयमा अनिवार्य रूपमा बगैँचा विकास गर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ। आगामी शैक्षिक सत्र २०८३ देखि यो व्यवस्था सबै विद्यालयमा लागू हुनेछ।
गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशनबाट संशोधित बजेट तथा कार्यक्रममार्फत स्वीकृत उक्त अवधारणा वातावरण संरक्षण, पोषणमैत्री शिक्षा तथा प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि सारिएको हो।
गाउँपालिका अध्यक्ष युकहाङ विर हांगाम (डम्बर) का अनुसार आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समेटिएको यो योजना प्रधानाध्यापकहरूको चैत २२ गतेको बैठकको निर्णयअनुसार कार्यान्वयनमा जाने तयारीमा छ। नयाँ शैक्षिक सत्र सुरु हुने बित्तिकै प्रत्येक विद्यालयले आफ्नो परिसरभित्र बगैँचा स्थापना र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको प्रभावकारिता बढाउन गाउँपालिकाले प्रतिस्पर्धात्मक मूल्यांकन प्रणाली समेत लागू गर्ने भएको छ। उत्कृष्ट बगैँचा विकास गर्ने विद्यालयलाई आगामी असारको दोस्रो साता सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार संरचनाअनुसार प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो स्थानमा पर्ने विद्यालयलाई २० हजार रुपैयाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
स्थानीय तहले यस कार्यक्रममार्फत विद्यार्थीमा कृषि, हरियाली तथा वातावरणप्रतिको रुचि अभिवृद्धि हुने र विद्यालय परिसरलाई थप व्यवस्थित तथा आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।







