काठमाडौँ । अव्यवस्थित बस्ती क्षेत्रबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराएको छ। शारीरिक परीक्षणसँगै मानसिक स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको महानगरले जनाएको छ।
महानगरपालिकाका अनुसार हालसम्म कम रक्तचापको समस्या भएका चार पुरुष र दुई महिलासहित छ जनालाई उपचार सेवा दिइएको छ। त्यसैगरी ढाड तथा जोर्नी दुखाइ भएका दुई पुरुष, टाउको दुखाइ भएका १८ पुरुष र छ महिला, गर्भवती दुई जना, काटिएर चोटपटक लागेका एक जना तथा अन्य विभिन्न स्वास्थ्य समस्या भएका १२ जनाले सेवा लिएका छन्।
शारीरिक उपचारसँगै मनोसामाजिक परामर्श सेवा पनि सञ्चालन गरिएको छ। परामर्श लिन आउनेहरूमा बहुविवाहसम्बन्धी पारिवारिक समस्या भोगिरहेका व्यक्ति, अभिभावकविहीन महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा संलग्न अभिभावकहरू रहेका जनाइएको छ।
महानगर स्वास्थ्य विभागअन्तर्गत महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार पारिवारिक अवस्थादेखि रोजगारीसम्बन्धी दबाबसम्मका कारण मानसिक तनाव देखिएको छ।
बालबालिकाको शिक्षा कसरी निरन्तरता दिने भन्ने चिन्ता धेरै परिवारमा देखिएको उनले बताएका छन्।







