काठमाडौँ । दाङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा विभिन्न अभियोगमा १६२ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित वैशाख ९ देखि १३ गतेसम्म चार दिनसम्म उक्त अपरेसन सञ्चालन गरिएको हो।
कार्यालयका अनुसार नियन्त्रणमा परेकामध्ये १३९ जना पुरुष र २३ जना महिला रहेका छन्। तीमध्ये १५ जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा, एक जनाविरुद्ध चोरी र पाँच जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
यसै क्रममा दुई जनालाई पुनर्स्थापना केन्द्रमा पठाइएको छ भने बाँकी १३४ जनालाई सम्झाई बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ।
त्यसैगरी फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ। उनीहरूलाई अदालतबाट विभिन्न मितिमा भएको फैसलाअनुसार १ वर्ष ३ महिना कैद तथा ३ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको बताइएको छ।
अपरेसनका क्रममा ४० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ। लागूऔषध दुरुपयोग न्यूनीकरण र नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा सचेतनामूलक तथा निर्माणात्मक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।







