काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदामा हालसम्म तीन हजार पाँच सयभन्दा बढी सुझाव प्राप्त भएको जनाएको छ। मन्त्रालयले प्राप्त सुझावको अध्ययन तथा विश्लेषण जारी राख्दै थप राय, सुझाव तथा टिप्पणी दिन सरोकारवाला सबै पक्षलाई आह्वान गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्न तयार पारिएको विधेयकको प्रारम्भिक मस्यौदा आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ। सो मस्यौदामा राष्ट्रसेवक कर्मचारी, सरोकारवाला निकाय तथा आम नागरिकले समेत सहभागिता जनाउँदै सुझाव दिन सक्ने व्यवस्था गरिएको उल्लेख छ।
सूचनामा मस्यौदा सार्वजनिक भएसँगै विभिन्न माध्यमबाट प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी अध्ययन भइरहेको र त्यसलाई आधार मानी विधेयकमा आवश्यक संशोधन गरिने जनाइएको छ। साथै सुझाव संकलन र विश्लेषणलाई व्यवस्थित बनाउन मन्त्रालयले प्रशासन सुधार सुझावसम्बन्धी अध्ययन समिति गठन गरी काम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार प्रारम्भिक मस्यौदामा अझै सुधारका पक्ष बाँकी रहेको निष्कर्षसहित प्राप्त सुझावहरूलाई समेटेर अन्तिम विधेयक तयार पारिनेछ। त्यसका लागि सरोकारवालाबाट थप सहभागिता आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
यसैबीच मन्त्रालयले इमेल तथा व्हाट्सएपमार्फत पनि सुझाव पठाउन सकिने व्यवस्था गरेको छ। इच्छुक व्यक्तिहरूले तोकिएको सम्पर्क माध्यममार्फत आफ्ना राय, सुझाव तथा टिप्पणी पठाउन सक्ने जानकारी सूचनामार्फत दिइएको छ।








