काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आज बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्र गतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक हजार ५१५ गरी कुल दुई हजार ७२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनले भने, “बितेको चौबीस घण्टाको अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु २७ लाख २७ हजार छ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।”
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।







