काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक आयोग तथा विभिन्न नियोगहरूमा रिक्त पद र निर्णय प्रक्रियामा देखिएको जटिलताका कारण प्रभावकारी काम गर्न कठिनाइ भइरहेको बताएका छन्।
रास्वपा संसदीय दलको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले राज्यका महत्वपूर्ण संस्थाहरू लामो समयसम्म पूर्ण संरचनाविहीन रहँदा जनअपेक्षा अनुरूप काम अघि बढाउन समस्या परेको धारणा राखेका हुन्।
लामिछानेका अनुसार धेरै संवैधानिक आयोग र नियोगमा पद रिक्त रहेका छन् भने कतिपय संस्थाहरू कार्यवाहक नेतृत्वको भरमा सञ्चालन भइरहेका छन्। यस्तो अवस्थामा व्यवहारिक निर्णय लिन समस्या हुने र संस्थागत प्रभावकारिता कमजोर बन्ने उनले उल्लेख गरे।
उनले आवश्यक निर्णयहरू निरन्तर स्थगित गर्दै समयको प्रतीक्षा मात्र गरेर बस्न नहुने बताए। जनताले अपेक्षा गरेअनुसार नतिजामुखी काम गर्न राजनीतिक तहबाट सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।
रास्वपा सभापति लामिछानेले जिम्मेवार र संयमित ढंगले राजनीतिक सक्रियता बढाउँदै सार्वजनिक अपेक्षाअनुसार शासन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।







