गोरखा । पालुङटार नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, नदी तथा खोलाको बहाव क्षेत्र, सरकारी तथा ऐलानी/पर्ती जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्वअनुसार नगरभित्रका विभिन्न स्थानमा अतिक्रमण गरी भोगचलन गरिएको भन्ने गुनासोका आधारमा उक्त निर्णय गरिएको जनाएका छन्।
सूचनाअनुसार सार्वजनिक जग्गा, नदी-खोला बहाव क्षेत्र तथा सरकारी जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ। तोकिएको समय सीमाभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार नगरपालिकाले आफैँ हटाउने र त्यसक्रममा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने चेतावनीसमेत दिइएको छ।








