काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच सोमबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा पारस्परिक सम्बन्ध र सहकार्यका विविध पक्षमा विचार आदान-प्रदान गरिएको जनाइएको छ।
भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबीच सन् १९७४ देखि निरन्तर रहँदै आएको मैत्रीपूर्ण सम्बन्धप्रति सकारात्मक धारणा व्यक्त गर्दै द्विपक्षीय सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको उल्लेख गरे। स्वास्थ्य, शिक्षा, ऊर्जा तथा ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघको सहयोग उपयोगी रहेको उल्लेख गर्दै आगामी दिनमा उत्पादनमूलक क्षेत्रतर्फ सहकार्य विस्तार हुने अपेक्षा व्यक्त गरिएको छ।
विशेष गरी कर्णाली प्रदेशमा सञ्चालनमा रहेका सहयोगमुखी कार्यक्रमहरूले दुर्गम क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै उनले लोकतन्त्र, स्वतन्त्रता तथा बहुपक्षीय सहकार्यजस्ता साझा मूल्यमा दुवै पक्षको प्रतिबद्धता रहेको धारणा राखे।
विश्वव्यापी चुनौतीका रूपमा देखिएका महामारी र जलवायु परिवर्तनजस्ता विषय समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उपराष्ट्रपतिले नेपाल त्यसतर्फ सक्रिय रहने बताए। साथै, सरकारले अवलम्बन गरेको १०० बुँदे कार्ययोजनामार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै आर्थिक वृद्धिलाई तीव्रता दिने लक्ष्य रहेको स्पष्ट पारिएको छ।
रोजगारी सिर्जना, पूर्वाधार विकास तथा प्रतिव्यक्ति आय वृद्धिलाई लक्षित गर्दै पर्यटन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गर्दै युरोपेली संघलाई विश्वसनीय साझेदारका रूपमा नेपालले अपेक्षा गरेको उनले बताए। साथै नेपाल-युरोपबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने इच्छा व्यक्त गर्दै नेपाली वायुसेवामाथि युरोपमा लागू प्रतिबन्ध हटाउन सहयोगको आवश्यकता औँल्याइएको छ।
उपराष्ट्रपतिले आगामी ‘युरोप डे’ को अवसरमा युरोपेली संघका सदस्य राष्ट्रका नागरिकको समृद्धि र सुख-शान्तिको कामना पनि व्यक्त गरेका छन्।
राजदूत लोरेन्जोले नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन युरोपेली संघ प्रतिबद्ध रहेको बताइन्। साथै नयाँ दिल्लीस्थित युरोपेली संघ अन्तर्गतका २२ देशका राजदूतहरूको टोलीले मे २५-२६ सम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै नेपाल-युरोप व्यापार मञ्च आयोजना गर्ने तयारी भइरहेको उल्लेख गरिन्।







