काठमाडौँ । अर्थ मन्त्रालयले आगामी बजेट तथा कार्यक्रम निर्माणका लागि नौ वटा मन्त्रालयसँग मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ।
सोमबार बिहान ११ बजेबाट सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म सञ्चालन भएको थियो। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सुरु गरिएको यो चरणको छलफल मंगलबारसम्म निरन्तर चल्ने बताइएको छ।
पहिलो दिनको छलफल गृह मन्त्रालयसँग प्रारम्भ गरिएको थियो। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग क्रमशः छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
छलफलमा आगामी आर्थिक वर्षको बजेट संरचना, नीति प्राथमिकता, कार्यक्रमगत प्रस्ताव तथा स्रोत व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल भएको थियो। अर्थ मन्त्रालयका अनुसार बजेटको प्रभावकारिता, कार्यान्वयन क्षमता र प्राथमिकताका क्षेत्रलाई केन्द्रमा राखेर मन्त्रालयगत आवश्यकताबारे छलफल गरिएको हो।
छलफलको नेतृत्व अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। कार्यक्रममा अर्थ र राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख र सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। त्यस्तै, सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार महाशाखा प्रमुखहरू पनि छलफलमा सहभागी भएका थिए।
मन्त्रालयगत प्रतिनिधिहरूमध्ये श्रम तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री तथा सचिवहरूको उपस्थिति रहेको जनाइएको छ।
अर्थ मन्त्रालयले भोलि बाँकी मन्त्रालयसँग बजेट सम्बन्धी छलफल जारी रहने जानकारी दिएको छ।







