काठमाडौँ । भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बसोबास गरिरहेका सुकुम्वासी परिवारका लागि स्वास्थ्य सेवा र शैक्षिक गतिविधि सञ्चालनमा ल्याइएको छ।
सोमबारदेखि शिविरमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा सुरु गरिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भक्तपुर अस्पतालका चिकित्सक, नर्स तथा प्राविधिकसहितको टोली र तिलगंगा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञको सहभागितामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा हालसम्म १५८ जनाको परीक्षण गरिएको छ।
शिविरमा विभिन्न प्रकृतिका बिरामी रहेका छन् । जसमा जटिल शल्यक्रियापछि उपचाररत बालकदेखि पक्षघातग्रस्त ज्येष्ठ नागरिक, दृष्टिविहीन, कुष्ठरोग प्रभावित, हिँडडुल तथा बोल्न असमर्थ व्यक्तिहरू, मानसिक रूपमा अस्वस्थ सदस्य भएका परिवार, सुत्केरी र गर्भवती महिलासमेत समावेश छन्।
स्वास्थ्य सेवासँगै जनचेतनामूलक स्वास्थ्य शिक्षा तथा मनोसामाजिक परामर्श पनि प्रदान गरिएको जनाइएको छ। सम्भावित क्षयरोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित संस्थासँग समन्वय गरी आधुनिक प्रविधिमा आधारित एक्स-रे परीक्षणमार्फत पहिचान प्रक्रिया अगाडि बढाउन पहल गरिएको छ।
शिविरमा रहेका बालबालिकाको शिक्षालाई निरन्तरता दिन २६ जनालाई लक्षित गरी वैकल्पिक माध्यमबाट प्रारम्भिक कक्षाहरू सञ्चालन गरिएको छ। आजदेखि अस्थायी रूपमा नियमित पठनपाठनसमेत सुरु गरिएको छ।







