काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले औद्योगिक सम्पत्तिको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।
संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उनले निजी क्षेत्र तथा विकास साझेदार संस्थासँगको सहकार्यमा यस क्षेत्रका नीति तथा कार्यक्रम कार्यान्वयनलाई तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री यादवका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार र लगानी प्रवर्द्धनका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको छ। साथै औद्योगिक पूर्वाधार विकासका कार्यहरूलाई पनि समानान्तर रूपमा अघि बढाइएको उनको भनाइ छ।







