काठमाडौँ । रुपन्देही जिल्लामा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले संगठित रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गर्दै पहिलो चरणअन्तर्गत बुटवलमा ठुलो प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार बिहीबार बुटवलमा विरोध र्यालीसहित व्यापक प्रदर्शन आयोजना गरिनेछ । कार्यक्रमअन्तर्गत राजमार्ग चौराहाबाट सुरु हुने भेला मिलनचोक, अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ । त्यसपछि जिल्ला प्रशासन, स्थानीय तह तथा प्रदेश सरकारलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाइने तयारी गरिएको छ ।
आन्दोलनकारी पक्षले सरकारबाट पर्याप्त संवाद र तयारी बिना नै भूमिहीन तथा अव्यवस्थित बसोबासीमाथि हटाउने कार्य गरिएको आरोप लगाएको छ । उनीहरूले नापजाँच भइसकेका जग्गामा तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन् ।
समितिका अनुसार बुटवलसँगै देवदह, तिलोत्तमा, सियारी, शुद्धोधनलगायत विभिन्न स्थानीय तहबाट प्रभावित नागरिकहरू आन्दोलनमा सहभागी हुनेछन् । पहिलो चरणको कार्यक्रमबाट पनि डोजर प्रयोग गरी उठीबास लगाउने प्रक्रिया नरोकिए थप कडा आन्दोलन घोषणा गरिने चेतावनी समितिले दिएको छ ।
यसैबीच, पछिल्ला दिनमा बुटवल उपमहानगरपालिका-४ स्थित अदालत आसपास रहेका ९ वटा घरटहरा हटाइएको थियो । त्यस्तै, मोतिपुर औद्योगिक क्षेत्रभित्र निर्माण भएका संरचना हटाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्बन्धित पक्षलाई पत्राचार गरिसकेको छ ।







