काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै उपाध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी लाई अनुरोध गरेको हो । उक्त प्रक्रिया चिकित्सा शिक्षा ऐनको दफा २३ अनुसार अघि बढाइने मन्त्रालयले जनाएको छ ।
प्रावधान अनुसार उपाध्यक्षको नाम सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समिति गठन हुने व्यवस्था रहेको छ । समितिमा सरकारका मुख्य सचिव वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (सरकारको तर्फबाट तोकिएको प्रतिनिधि) सदस्य रहनेछ भने चिकित्सा क्षेत्रका प्राध्यापकहरू मध्येबाट सरकारले तोकेको एक जना महिला सदस्य रहने व्यवस्था छ ।
हाल सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश २०८३ अनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त रहेको जनाइएको छ । उक्त रिक्त पद पूर्ति गर्ने उद्देश्यले सिफारिस प्रक्रिया अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।







