काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुटसम्बन्धी अनियमितता गरेको आरोपमा पूर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसमेत रहेका महेश्वर न्यौपानेसहितचार पूर्वसचिव र एक बहालवाला सचिवसहित विभिन्न पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार दायर गरेको आरोपपत्रमा नेपाल सरकारका बहालवाला सचिव तथा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, पूर्वसचिवहरू महेश्वर न्यौपाने, केवलप्रसाद भण्डारी, सुरेश आचार्य र शंकर अधिकारीलाई प्रतिवादी बनाएको हो। तत्कालिन अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव रहेका न्यौपाने पूर्वअख्तियार सचिवसँगै पूर्वगृह सचिव तथा पूर्वपर्यटन सचिवसमेत हुन्।
आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का कम्पनी चाइना क्याम्सी इञ्जिनियरिङ कम्पनी लिमिटेडलाई कर, महसुल तथा अन्य शुल्क छुट दिने प्रक्रियामा नेपाल कानुनले नदिएको सुविधा प्रदान गरिएको थियो।
अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार ठेक्का सम्झौताको ‘कन्ट्र्याक्ट प्राइस’ भित्र नै कर तथा महसुल समावेश गरिएको अवस्थामा पनि कार्यान्वयन सम्झौता (इम्प्लिमेन्टेसन एग्रिमेन्ट) मार्फत पुन: कर छुट दिइएको देखिएको छ। आयोगले यसलाई “डबल बेनेफिट” दिएको अवस्था ठहर गर्दै राज्यलाई तीन अर्ब ५ करोड २२ लाख १ हजार १६० रुपैयाँ बराबरको हानि पुगेको दाबी गरेको छ।
आरोपपत्रअनुसार शंकर प्रसाद अधिकारी तत्कालीन अर्थ मन्त्रालयका सचिव तथा महेश्वर न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका थिए।
त्यस्तै तत्कालीन सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य तथा हालका बहालवाला सचिव डण्डुराज घिमिरे तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए। उनीविरुद्ध मुद्दा दायर भएसँगै प्रचलित कानुनी व्यवस्थाअनुसार स्वत: निलम्बनमा परेका छन्।
अख्तियारले आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो, जरिवाना तथा कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।







