काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले नेपाल प्रिमियर लिग (एनपीएल) का पहिलो र दोस्रो संस्करणको आय तथा खर्च विवरण औपचारिक रूपमा स्वीकृत गरेको छ।
आइतबार विराटनगरमा सम्पन्न साधारण सभाले एनपीएलबाट प्राप्त आम्दानी वितरणसम्बन्धी निर्णय पनि गरेको छ। सोअनुसार देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ। साथै सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट पारित गरिएको छ।
बैठकले एसीसी र आईसीसीबाट थप कार्यक्रम वा योजना आएमा सोअनुसार बजेट तथा कार्यक्रम परिमार्जन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने गतिविधिको आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने व्यवस्था लागू गर्ने निर्णय गरिएको छ।
क्यानले यसै वर्षदेखि हरेक डिसेम्बरमा ‘क्यान एनुअल अवार्ड्स’ आयोजना गर्ने निर्णय पनि गरेको छ। उक्त अवार्डअन्तर्गत उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, लाइफटाइम एचिभमेन्ट तथा ‘मोमेन्ट अफ द इयर’ श्रेणीमा सम्मान प्रदान गरिनेछ।







