काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रथम महाधिवेशनको तयारीका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।
बुधबार बिहान सम्पन्न केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। महाधिवेशन व्यवस्थापन तथा समन्वयका लागि सम्पूर्ण केन्द्रीय समितिलाई समेटेर आयोजक संरचना बनाइएको पार्टीले जनाएको छ।
संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार महाधिवेशन केन्द्रित विभिन्न उपसमितिसमेत गठन गरिएको छ।
पार्टीले संगठन विस्तार र अधिवेशन प्रक्रियालाई चरणबद्ध रूपमा अघि बढाउने कार्यतालिकासमेत सार्वजनिक गरेको छ। समिति गठन नभएका वडाहरूमा जेठ २ गते भेला आयोजना गर्ने तथा वैशाख २० गतेअघि वडा समिति गठन भएका स्थानमा जेठ ३ गते वडा अधिवेशन गर्ने निर्णय गरिएको छ।
यस्तै, तदर्थ समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते भेला आयोजना गरिने भएको छ भने वैशाख २५ गतेअघि पालिका समिति गठन भएका स्थानमा जेठ १० गते पालिका अधिवेशन गर्ने तालिका तय गरिएको छ।
जेठ ३ गतेसम्म वडा समिति गठन भएका स्थानमा जेठ १६ गते अधिवेशन गर्ने तथा जेठ १० गतेअघि पालिका समिति बनेका क्षेत्रमा जेठ १७ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।







