काठमाडौँ । रानीचौर सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि-नोक्सानी पुर्याएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार जाजरकोटस्थित भेरी नगरपालिका-१० मा रहेको रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीलगायत प्रतिवादीविरुद्ध सार्वजनिक रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा रु. ६ लाख ३६ हजार ४७ बराबरको बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको थियो। साथै सार्वजनिक सम्पत्तिमा हानि-नोक्सानी पुर्याएको आरोपसम्बन्धी थप कसुरमा समेत सजाय माग गरिएको आयोगले जनाएको छ।
तर विशेष अदालतले २०८२ मंसिर ३ गते गरेको फैसलामा प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। सो निर्णयप्रति असहमति जनाउँदै आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।







