काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज विपक्षी दलहरूको अवरोध र नाराबाजीबीच कार्यसूची अघि बढाइएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफको माग गर्दै बैठकमा अवरोध सिर्जना गरेका थिए।
बैठक सञ्चालनका क्रममा सभामुख डीपी अर्यालले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै जवाफ प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ई समय दिन विपक्षी सहमत नभए पनि कार्यसूची अघि बढाएका थिए। त्यसपछि पनि विपक्षीको अवरोध नरोकिएपछि सभामुखले करिब १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
स्थगनपछि पुनः सुरु भएको बैठकमा समेत विपक्षी सांसदहरूको विरोध कायमै रहे पनि सभामुखले प्रक्रिया अगाडि बढाउँदै अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमसम्बन्धी जवाफ प्रस्तुत गर्न अनुमति दिएका छन्। अहिले पनि विपक्षी पक्षले विरोध जारी राख्दै सदनमा उभिएर नाराबाजी गरिरहेका छन् भने अर्थमन्त्रीले जवाफ दिने क्रम जारी छ।







