काठमाडौँ । काठमाडौँको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरूले पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी माग पूरा नभएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
उचित पारिश्रमिक नपाएको तथा श्रम शोषण भएको आरोप लगाउँदै उनीहरूले आकस्मिक सेवा बाहेकका सम्पूर्ण काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएको जनाएका छन् ।
आन्दोलित स्वास्थ्यकर्मीहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै “नर्सलाई उचित तलब देऊ, श्रम शोषण अन्त्य गर” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
अस्पतालमा कार्यरत करिब ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी भएको जनाइएको छ । उनीहरूले केही दिनअघि नै माग पूरा नभएको भन्दै काममा फर्कन नसक्ने अवस्था रहेको उल्लेख गर्दै अस्पताल प्रशासनलाई औपचारिक पत्र बुझाएका थिए ।
उक्त पत्रमा लामो समयदेखि पारिश्रमिक तथा अन्य सेवा सुविधासम्बन्धी माग उठाइए पनि हालसम्म कुनै ठोस निर्णय नभएको उल्लेख गरिएको छ । माग सम्बोधन नभएसम्म नियमित ड्युटीमा नफर्कने उनीहरूको अडान रहेको बताइएको छ ।







