काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा ३२ पटक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा काठमाडौँ फर्किएका छन्। स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउनु रहेको बताएका छन्।
५६ वर्षीय शेर्पाले २०२६ मे १७ अर्थात् २०८३ जेठ ३ गते बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमानी आरोहणलाई थप उचाइ दिएका थिए।
उनी आबद्ध सेभेन समिट ट्रेक्सले काठमाडौँमा उनको सम्मानमा विशेष स्वागत कार्यक्रम आयोजना गर्ने जनाएको छ।
सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा सुरु गरेका कामिरिताले तीन दशकभन्दा लामो पर्वतारोहण यात्रामा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएका छन्। निरन्तर कीर्तिमानी आरोहणमार्फत उनले नेपाललाई विश्व पर्वतारोहण क्षेत्रमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ।







