काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको जनाइएको छ। वर्षेनी पहिरो र चट्टान खस्ने जोखिमका कारण असुरक्षित मानिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित निर्माण भइरहेको सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको उक्त परियोजनाको वित्तीय प्रगति हालसम्म ५८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख राजेश पौडेल का अनुसार पाँच वर्षे निर्माण अवधिसहित सुरु गरिएको परियोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमार्फत कार्यान्वयन भइरहेको छ।
उनका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि प्रारम्भिक पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी वहन गर्नेछ। त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ अन्तर्गत प्राविधिक जिम्मेवारी कायम रहने व्यवस्था गरिएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र वर्षायाममा बारम्बार पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याका कारण जोखिमपूर्ण मानिँदै आएको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य यात्रा दूरी घटाउनुभन्दा यात्रुलाई सुरक्षित वैकल्पिक मार्ग उपलब्ध गराउनु हो।
आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी तथा प्राविधिक जटिलताले निर्माण कार्य प्रभावित भएको जनाइएको छ। नेपालमा पहिलो पटक इपिसी मोडल प्रयोग गरिएकाले कागजी प्रक्रिया, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनलगायतका विषयमा ढिलाइ हुँदा कामले अपेक्षित गति लिन नसकेको आयोजना पक्षको भनाइ छ। हाल ती समस्या क्रमशः समाधानतर्फ उन्मुख रहेको उल्लेख गरिएको छ।
सुरुङसँगै सडक स्तरोन्नति र सुरक्षासम्बन्धी संरचना निर्माणको काम पनि अगाडि बढाइएको छ। आयोजनाअन्तर्गत जोखिमयुक्त बाहिरी क्षेत्रमा भिर संरक्षण, सुरक्षित संरचना निर्माण तथा पैदलयात्रुका लागि छुट्टै सुरक्षित मार्ग बनाउने योजना रहेको छ। साथै बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनको कामसमेत गरिने जनाइएको छ।
प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहेको परियोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत झन्डै सात अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो। आयोजना सम्पन्न भएपछि बुटवल-पाल्पा सडक खण्डको यात्रा थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको दाबी
काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको जनाइएको छ। वर्षेनी पहिरो र चट्टान खस्ने जोखिमका कारण असुरक्षित मानिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित निर्माण भइरहेको सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको उक्त परियोजनाको वित्तीय प्रगति हालसम्म ५८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख राजेश पौडेल का अनुसार पाँच वर्षे निर्माण अवधिसहित सुरु गरिएको परियोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमार्फत कार्यान्वयन भइरहेको छ।
उनका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि प्रारम्भिक पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी वहन गर्नेछ। त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ अन्तर्गत प्राविधिक जिम्मेवारी कायम रहने व्यवस्था गरिएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र वर्षायाममा बारम्बार पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याका कारण जोखिमपूर्ण मानिँदै आएको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य यात्रा दूरी घटाउनुभन्दा यात्रुलाई सुरक्षित वैकल्पिक मार्ग उपलब्ध गराउनु हो।
आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी तथा प्राविधिक जटिलताले निर्माण कार्य प्रभावित भएको जनाइएको छ। नेपालमा पहिलो पटक इपिसी मोडल प्रयोग गरिएकाले कागजी प्रक्रिया, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनलगायतका विषयमा ढिलाइ हुँदा कामले अपेक्षित गति लिन नसकेको आयोजना पक्षको भनाइ छ। हाल ती समस्या क्रमशः समाधानतर्फ उन्मुख रहेको उल्लेख गरिएको छ।
सुरुङसँगै सडक स्तरोन्नति र सुरक्षासम्बन्धी संरचना निर्माणको काम पनि अगाडि बढाइएको छ। आयोजनाअन्तर्गत जोखिमयुक्त बाहिरी क्षेत्रमा भिर संरक्षण, सुरक्षित संरचना निर्माण तथा पैदलयात्रुका लागि छुट्टै सुरक्षित मार्ग बनाउने योजना रहेको छ। साथै बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनको कामसमेत गरिने जनाइएको छ।
प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहेको परियोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत झन्डै सात अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो। आयोजना सम्पन्न भएपछि बुटवल-पाल्पा सडक खण्डको यात्रा थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।