काठमाडौँ । नेपालका सहकारी संस्थामा आबद्ध सदस्यको संख्या एक करोड नाघेको छ। आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सहकारी क्षेत्रका शेयर सदस्य संख्या १ करोड १ लाख ६० हजार ९६३ पुगेको छ।
सर्वेक्षणले सहकारी क्षेत्रको कुल शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ। यस अवधिसम्म देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ।
१० खर्बभन्दा बढी बचत परिचालन
फागुन २०८२ सम्म सहकारी क्षेत्रमार्फत १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने ९ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
सहकारी क्षेत्रले रोजगारी सिर्जनामा पनि योगदान पुर्याएको देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा प्रत्यक्ष रूपमा ८२ हजार २१६ जनाले रोजगारी प्राप्त गरेको तथ्यांक सार्वजनिक गरिएको छ।
सूचना प्रणालीमा सहकारी आबद्धता बढ्दो
सहकारीसम्बन्धी एकीकृत तथ्यांक व्यवस्थापनका लागि सञ्चालन गरिएको ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ मा आबद्ध संस्थाको संख्या पनि बढेको छ। २०८१ असारसम्म १८ हजार ८९७ संस्था आबद्ध रहेकोमा २०८२ फागुनसम्म यो संख्या बढेर १९ हजार ९०३ पुगेको छ।
नियमन र मापदण्ड कार्यान्वयन
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजत पत्र प्रदान गरेको छ। साथै बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि दर्ता, अभिलेखीकरण तथा नियामकीय मापदण्डसम्बन्धी व्यवस्था पनि लागू गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन जारी
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषणा गरिएका २३ संस्थामध्ये ३ संस्थाको व्यवस्थापन प्रक्रिया टुंगिएको छ भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अझै जारी रहेको छ।
सर्वेक्षणअनुसार हालसम्म विभिन्न चरणमा ८० हजार ८७ जना दाबीकर्ताले कुल ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ बराबरको मागदाबी दर्ता गराएका छन्। तीमध्ये यस अवधिमा ३ हजार ६८८ जना दाबीकर्तालाई पूर्ण रूपमा २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरिएको छ।







