काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी प्रतिनिधि सभा सदस्य तथा केही व्यक्तिहरूको भूमिकामाथि थप अनुसन्धान गरी आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरूको गतिविधि, अभिव्यक्ति तथा घटनाक्रमसँगको सम्भावित सम्बन्धबारे विस्तृत छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ। घटनाको सम्पूर्ण परिस्थितिलाई स्पष्ट पार्न सूक्ष्म अनुसन्धान अनिवार्य रहेको निष्कर्ष प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेदन अनुसार अनुसन्धान तथा कारवाहीका लागि सिफारिस गरिएका व्यक्तिहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ र आशिका तामाङ रहेका छन्।
आयोगले उनीहरूको सार्वजनिक अभिव्यक्ति, आन्दोलनका क्रममा देखिएको भूमिका तथा घटनासँगको सम्भावित प्रभावबारे थप अध्ययन गर्नुपर्ने भन्दै आवश्यक प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएको छ।







