काठमाडौँ । जेन जेड आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले राज्यले सुरक्षाकर्मीलाई आवश्यक स्तरमा स्रोत-साधन उपलब्ध गराउन नसक्दा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको र त्यसको प्रत्यक्ष असर स्वरूप ठूलो क्षति भएको निष्कर्ष निकालेको छ।
आयोगका अनुसार घटनाका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीहरू पर्याप्त सुरक्षा सामग्रीको अभावका कारण प्रभावकारी रूपमा नियन्त्रण गर्न असमर्थ बनेका थिए। प्रतिवेदनमा स्रोत-साधनको अभावका कारण कतिपय अवस्थामा प्रहरीलाई आफ्नो ज्यान जोगाउनसमेत पछि हट्नुपर्ने अवस्था आएको उल्लेख छ।
प्रतिवेदनअनुसार माइतीघर क्षेत्रबाट बबरमहलतर्फ अघि बढेको प्रदर्शनका क्रममा भीडमा घुसपैठ भएको र त्यसपछि प्रहरी तथा प्रदर्शनकारीबीच लगातार झडप भएको देखिएको छ। सो क्रममा प्रदर्शनकारीहरूले लाठी, तीर र गुलेलीजस्ता सामग्री प्रयोग गर्दै संसद भवनको पर्खालसमेत तोडफोड गरेको विवरण प्रतिवेदनमा समावेश गरिएको छ।
स्थिति थप तनावपूर्ण बनेपछि आगजनी र सुरक्षाकर्मीमाथि आक्रमणको जोखिम बढेको भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड तितरबितर पार्ने प्रयास गरेको थियो। तर त्यसपछि प्रदर्शनकारी अझ बढी आक्रोशित भई सुरक्षाकर्मीप्रति आक्रामक बनेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले फिल्डमा खटिएका प्रहरीलाई ढाल, हेल्मेट, बुलेटप्रुफ भेस्ट तथा बुलेटप्रुफ सवारीसाधनजस्ता आत्मसुरक्षाका सामग्री पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको तथ्यलाई प्रमुख कमजोरीका रूपमा औँल्याएको छ। प्रतिवेदनमा पर्याप्त सुरक्षा सामग्री नहुँदा प्रदर्शन नियन्त्रण प्रभावकारी हुन नसकेको र कतिपय अवस्थामा प्रहरीले पक्राउ गर्ने अवस्था गुमाउँदै पछि हट्नुपरेको उल्लेख छ।
त्यसैगरी, नियन्त्रणको अवस्था बिग्रँदै जाँदा प्रहरी बाध्य भएर गोली चलाउने अवस्थासम्म पुगेको पनि प्रतिवेदनमा उल्लेख छ। आवश्यक सावधानी र स्रोत-साधनको अभावकै कारण हातहतियारको प्रयोग र नियन्त्रण प्रक्रिया पनि प्रभावकारी हुन नसकेको आयोगको निष्कर्ष छ।







