काठमाडौँ । सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर उठेका प्रश्नका सन्दर्भमा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरेका छन्।
मन्त्रिपरिषद् बैठकपछि आयोजित नियमित पत्रकार ब्रिफिङमा सञ्चारकर्मीहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले परराष्ट्र मन्त्रालयमार्फत यस विषयमा आवश्यक स्पष्टिकरण पहिले नै दिइसकिएको उल्लेख गरे। उनका अनुसार नेपाल–भारत सीमा विवाद समाधानका लागि द्विपक्षीय संयन्त्र पहिल्यैदेखि सक्रिय छन् र ती संरचनामार्फत समस्या समाधान गर्ने अभ्यास रहँदै आएको छ।
प्रवक्ता पोखरेलले दुई देशबीच कूटनीतिक नोट आदान-प्रदान हुँदै आएको तथा सीमा सम्बन्धी विषयहरू छलफलमार्फत समाधान गर्नुपर्ने सहमति रहिआएको बताए। उनले प्रधानमन्त्रीले पनि सीमा समस्या संवाद र संस्थागत संयन्त्रमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरिसकेको उल्लेख गरे।
पत्रकारहरूले नेपालले भारततर्फ सीमा अतिक्रमण गरेको प्रमाणबारे प्रश्न उठाएपछि प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरिएको टिप्पणी गरे। उनका अनुसार प्रधानमन्त्रीको भनाइमा नेपालले सीमा मिचेको स्वीकारोक्ति नभई सीमा सम्बन्धी छलफलका क्रममा आएका विभिन्न दाबी र प्रतिक्रियाप्रति आश्चर्य व्यक्त गरिएको मात्र हो।
उनले प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै विवादलाई एक पटक पुनः सुनेर बुझ्न आग्रह गरे। साथै, नेपालले भारततर्फ सीमा मिचेको भन्ने अर्थमा प्रधानमन्त्रीको अभिव्यक्ति नलिनुपर्ने स्पष्ट पारे।
यसअघि संसदमा प्रधानमन्त्रीले सीमा विवादबारे बोल्दै केही स्थानमा नेपालले भारतको भूभाग उपभोग गरेको विषय आफूले पछि मात्र जानकारी पाएको आशय व्यक्त गरेको प्रसंग सार्वजनिक भएको थियो।







