काठमाडौँ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ।
आदेशअनुसार लिखत कीर्तेसम्बन्धी अभियोगमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको छ। उक्त मुद्दाको थप कानुनी प्रक्रिया अदालतको आदेशअनुसार अघि बढ्ने जनाइएको छ।







