काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच रहेका द्विपक्षीय सरोकारका विषयहरूलाई व्यवस्थित रूपमा पहिचान गरी प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले दुवै देशका साझा चासोका मुद्दाको सूची तयार गरेर निश्चित कार्ययोजना तथा समयसीमासहित कार्यान्वयन प्रक्रियामा जान सकिने प्रतिबद्धता व्यक्त गरेको रास्वपाले जनाएको छ।
रास्वपाका विदेश विभाग प्रमुख दीपक बोहोराका अनुसार छलफलमा नेपाल-भारत सम्बन्धसँग जोडिएका विविध विषयलाई वर्गीकरण गर्दै प्राथमिकता निर्धारण गर्ने, त्यसपछि स्पष्ट समय तालिका बनाएर कार्यान्वयनमा केन्द्रित हुने विषयमा कुराकानी भएको थियो। भारतीय पक्षले यस्ता एजेन्डामा परिणाममुखी ढंगले काम गर्न तत्पर रहेको सन्देश दिएको उनले बताए।
भारत भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले यसअघि भारतीय गृहमन्त्री तथा परराष्ट्र मन्त्रीसँग पनि भेटघाट गरेको जनाएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको उक्त भ्रमणमा दुई देशबीचको सम्बन्ध, सहकार्यका क्षेत्र तथा आपसी हितका विषयमा छलफल भइरहेको बताइएको छ।
पाँच दिने भ्रमणमा रहेका सभापति लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख बोहोरा तथा प्रदीप आचार्य सहभागी छन्।







