काठमाडौँ । अभिनेता राजेश हमालले नेपाल-भारत सीमा सम्बन्धी बहस र समसामयिक राजनीतिक अभिव्यक्तिका सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सीमा सम्बन्धी विषयको प्रकृति सही रूपमा बुझ्नुपर्ने र राष्ट्रिय नेतृत्वमा परिपक्वता तथा दीर्घकालीन सोचको महत्व रहेको बताएका छन्।
सामाजिक सञ्जालमा व्यक्त धारणा क्रममा हमालले सीमा क्षेत्रमा देखिने सामान्य अतिक्रमणका घटनाहरू र राज्यको सक्रिय संलग्नतामा हुने भू-भाग नियन्त्रण विस्तारलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गरेका छन्। उनका अनुसार यी दुई प्रकृतिका विषयका कारण, प्रभाव तथा समाधानका उपायहरू फरक-फरक हुन्छन्।
उनले सीमापार देखिने अतिक्रमणका घटनाहरू प्राय: स्थानीय तहका गतिविधि, खुला सीमा व्यवस्था, नदीको धार परिवर्तन, सीमा स्तम्भको अवस्थिति तथा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुने बताएका छन्। यस्ता विषयलाई प्रशासनिक तथा प्राविधिक प्रकृतिको समस्या मानेर द्विपक्षीय संवाद, संयुक्त नापजाँच र सहकार्यमार्फत समाधान खोज्न सकिने उनको धारणा छ।
यसको विपरीत, कुनै राज्यले विवादित भू-भागमा आफ्नो संस्थागत उपस्थिति विस्तार गर्ने, पूर्वाधार निर्माण गर्ने, सुरक्षा संयन्त्र परिचालन गर्ने वा आधिकारिक नक्सामार्फत दाबीलाई संस्थागत स्वरूप दिने कार्यलाई उनले गम्भीर रणनीतिक विषयका रूपमा चित्रित गरेका छन्। यस सन्दर्भमा उनले कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र लाई उदाहरणका रूपमा उल्लेख गरेका छन्।
हमालले विश्व राजनीतिक परिवेशमा बढ्दो जटिलता र अनिश्चितताको सन्दर्भ उठाउँदै नेतृत्व क्षमताको महत्वमाथि पनि ध्यानाकर्षण गराएका छन्। बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा मुलुक सञ्चालन गर्ने व्यक्तिमा अनुभव, निर्णय क्षमता, राजनीतिक परिपक्वता र दीर्घकालीन दृष्टिकोण अपरिहार्य हुने उनको भनाइ छ।
राष्ट्रको नेतृत्व गर्ने तहमा आवश्यक परिपक्वता र दूरदृष्टिको अभाव भएमा देशले जटिल चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्। हमालको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न प्रतिक्रिया आएका छन्।







