काठमाडौँ । नेपाल प्रहरीमा हालै पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नत अधिकारीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
नेपाल सरकारको जेठ २१ गतेको निर्णयअनुसार जनपद र प्राविधिक समूहका गरी ४ जना प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका थिए। त्यस्तै, गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट १३ जना प्रहरी उपरीक्षक, १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक तथा १४ जना प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए।
पदोन्नति सूचीमा समावेश कुल ४७ अधिकृतमध्ये ४४ जनाले समारोहमा दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन्। बाँकी तीन जना अधिकृत भने हाल तालिमका लागि दक्षिण कोरियामा रहेकाले कार्यक्रममा सहभागी हुन सकेनन्। उनीहरूमध्ये एक जना प्राविधिक प्रहरी उपरीक्षक र दुई जना प्राविधिक प्रहरी नायव उपरीक्षक रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त सबै अधिकृतलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले पदोन्नति कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा देखाएको व्यावसायिकता, इमानदारी, निष्ठा र सेवाप्रतिको समर्पणको मूल्याङ्कनको परिणाम भएको उल्लेख गरे।
पदोन्नतिसँगै जिम्मेवारीको दायरा र अपेक्षा दुवै विस्तार हुने भएकाले अझ बढी उत्तरदायी, संवेदनशील र परिणाममुखी ढङ्गले कार्य गर्न उनले निर्देशन दिए। संगठनका उद्देश्य प्राप्तिका लागि व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने दायित्व पूरा गर्न जनपद र प्राविधिक दुवै समूहको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै पदोन्नत अधिकृतहरूले संगठनप्रति उच्च प्रतिबद्धता प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। बदलिँदो सुरक्षा परिवेश र नागरिक अपेक्षालाई मध्यनजर गर्दै निष्पक्ष, व्यावसायिक तथा जनउत्तरदायी ढङ्गले सेवा प्रवाह गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले नयाँ जिम्मेवारीलाई पूर्ण समर्पणका साथ निर्वाह गर्दै संगठनको लक्ष्य हासिल गर्न थप प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, अन्य प्रहरी कर्मचारी तथा जवानहरूको उपस्थिति रहेको थियो।







