काठमाडौँ । मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण केही समय प्रभावित भएको नागढुंगा-मुग्लिन सडक खण्ड विस्तार कार्य पुनः सञ्चालनमा आएको छ।
निर्माण जिम्मा पाएको शर्मा एण्ड कम्पनीका अनुसार परियोजनाका लागि आवश्यक बिटुमिन आपूर्ति भएसँगै काम पुनः तीव्र गतिमा अघि बढाइएको छ। कम्पनीका निर्देशक सौरभ शर्माले निर्माण गतिविधि रोकिएको अवस्थामा रहेको समस्या समाधान भएसँगै कार्य पुनः सुरु गरिएको जानकारी दिए।
पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र भारतबाट हुने बिटुमिन आपूर्तिमा आएको अवरोधले निर्माण कार्य प्रभावित भएको थियो। पछिल्लो समयमा सम्बन्धित पक्षसँगको समन्वयपछि समस्या केही हदसम्म समाधान भएको जनाइएको छ।
निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मूल्य समायोजनलगायतका विषयमा छलफल गरेका थिए। मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएपछि परियोजना पुनः अघि बढाइएको हो।
काठमाडौँको प्रमुख यातायात मार्गका रूपमा रहेको ९५ किलोमिटर लामो यो सडक खण्डलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ। मलेखुदेखि मुग्लिनसम्मको खण्डलाई पश्चिम भाग र मलेखुदेखि नागढुंगासम्मको क्षेत्रलाई पूर्वी भागका रूपमा वर्गीकरण गरिएको छ।
पूर्वी खण्डलाई थप दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ। नागढुंगा-नौबिसे खण्डको करिब १२.३४ किलोमिटर क्षेत्रमा भौतिक प्रगति करिब ८५ प्रतिशत पुगेको छ। उक्त खण्डमा पहिलो तहको कालोपत्र सम्पन्न भइसके पनि अन्तिम तहको काम बाँकी छ। दुई पुल निर्माण सम्पन्न भइसकेका छन् भने पहुँच सडक निर्माण कार्य जारी रहेको जनाइएको छ। नौबिसे-मलेखु खण्डमा निर्माण प्रगति करिब ६० प्रतिशत रहेको छ।
त्यस्तै, पश्चिम खण्ड अन्तर्गत मलेखु-मुग्लिन क्षेत्रको करिब ३८.८६ किलोमिटर भागमा विस्तार कार्य चलिरहेको छ, जसको भौतिक प्रगति करिब ४४ प्रतिशत पुगेको छ।







