काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थागत नेतृत्व चयनसम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने निर्णय गरेको छ।
संस्थाको कार्यसमिति बैठकले विधान २०७८ संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने प्रस्ताव स्वीकृत गरेको जनाएको छ।
इप्पानको २०८३ जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। सो प्रस्तावलाई आगामी जेठ २९ गते आयोजना हुने संस्थाको २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय पनि गरिएको छ।
संस्थाले सार्वजनिक गरेको निर्णयअनुसार विधान संशोधन लागू भएपछि अध्यक्ष पदमा स्वतः उत्तराधिकारको व्यवस्था रहने छैन। त्यसको सट्टा कार्यसमितिमा कम्तीमा एक कार्यकाल पूरा गरेका तथा विधानअनुसार योग्य ठहरिएका सदस्यहरूलाई अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
हालको व्यवस्थाअनुसार आगामी साधारण सभापछि वरिष्ठ उपाध्यक्ष मोहन डाँगी अध्यक्ष पदमा पुग्ने अवस्था रहेको छ। तर प्रस्तावित संशोधन स्वीकृत भएपश्चात् भविष्यका नेतृत्व चयन प्रक्रियामा अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाको अभ्यास लागू हुनेछ।
इप्पानले अध्यक्ष पदमात्र नभई संस्थाका अन्य पदहरूमा समेत योग्य सदस्यहरूले खुला रूपमा उम्मेदवारी दिन सक्ने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यसहित विधान संशोधन प्रस्ताव अघि बढाएको जनाएको छ।






