धनुषा । मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीति निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताएका छन् ।
मधेस प्रदेशसभा सचिवालयद्वारा आज जनकपुरधाममा आयोजित ‘नमूना युवा संसदीय अभ्यास कार्यक्रम–२०८३’ मा उनले लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक पर्दछ भनेओ । उनले भने, “संसदीय अभ्यासमार्फत युवाहरूमा नेतृत्व विकास, तार्किक बहस, निर्णय क्षमता तथा जिम्मेवारीबोधको विकास हुनेछ । ”
सभामुख यादवले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन युवा पुस्ताले संविधान, कानुन तथा संसदीय प्रक्रियाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले यस्ता अभ्यासले युवालाई भविष्यमा सक्षम जनप्रतिनिधि, नीति निर्माता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए ।
सो अवसरमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि युवाको सहभागिता अपरिहार्य रहेको धारणा राखे ।
कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट सहभागी भएका युवाले प्रदेशसभाको बैठक सञ्चालन, प्रश्नोत्तर, प्रस्ताव प्रस्तुति तथा छलफलजस्ता संसदीय गतिविधिको अभ्यास गर्नेछ ।







