काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चीनको सैन्य संरचनासँग सम्बन्ध रहेको दाबी गर्दै चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई आफ्नो अद्यावधिक ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा समावेश गरेको छ।
सोमबार सार्वजनिक गरिएको नयाँ सूचीमा यी तीन कम्पनीलाई चीनको सेनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संस्थाका रूपमा उल्लेख गरिएको छ।
चीनको सबैभन्दा ठुलो ई-कमर्स कम्पनी अलीबाबाले भने उक्त निर्णयप्रति असहमति जनाउँदै आफूलाई सूचीमा राख्ने कुनै आधार नभएको प्रतिक्रिया दिएको छ। कम्पनीले आफू चिनियाँ सैन्य कम्पनी नभएको र सैन्य–नागरिक एकीकरण रणनीतिसँग पनि आबद्ध नरहेको दाबी गर्दै आवश्यक कानुनी प्रक्रिया अपनाउने जनाएको छ।
बीवाईडी र बाइडुले भने सूची सार्वजनिक हुँदासम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
पेन्टागनले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा यसपटक १८८ कम्पनी समावेश गरिएको छ। अघिल्लो वर्ष उक्त सूचीमा १३४ कम्पनी रहेका थिए।
अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ सैन्य कम्पनी भन्नाले चीनको सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका अथवा चीनको सैन्य-नागरिक एकीकरण नीतिलाई सहयोग पुर्याउने संस्थालाई जनाउने गरेको छ। अद्यावधिक सूचीमा अलीबाबा, बीवाईडी र बाइडुले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग तथा उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत सैन्य विकासमा योगदान पुर्याएको दाबी पनि गरिएको छ।







