काठमाडौँ । मुलुकको बाह्य क्षेत्र सन्तुलनमा उल्लेखनीय सुधार देखिएको छ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ वैशाख मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार विदेशी मुद्रा भित्रिने मात्रा बाहिरिनेभन्दा बढी हुँदा शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा यो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तर स्थितिमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष ३ अर्ब २३ करोड डलर रहेको बचत चालू आर्थिक वर्षमा बढेर ५ अर्ब ९८ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
शोधनान्तर प्रणालीले निश्चित अवधिभित्र आवासीय तथा गैरआवासीय व्यक्ति र संस्थाबीच भएका सबै आर्थिक कारोबारको समग्र अवस्था चित्रण गर्छ। बचत बढ्दा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह मजबुत हुने र घाटा हुँदा विपरीत अवस्था सिर्जना हुने आर्थिक सिद्धान्त छ।
यस अवधिमा चालु खाता पनि उच्च दरमा बचतमा रहेको छ। चालु आर्थिक वर्षको १० महिनामा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा समेत चालु खातामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष २ अर्ब १ करोड डलर बचतमा रहेको चालु खाता यस वर्ष ५ अर्ब ५ करोड डलर पुगेको छ।
यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ४८ करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ। चालू आर्थिक वर्षको १० महिनामा १६ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ भने अघिल्लो वर्ष १० अर्ब ५८ करोड रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।







