सिन्धुली । कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ बस्ने २१ वर्षीय रूपेश ठाकुर र ३० वर्षीय सुरज राज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ ख ०१७७ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही । कोटहीमाई गाउँपालिका-४ वैर घाटबाट नियन्त्रित लागू औषध डाईजेपाम १ सय एम्पुल र बुप्रेनोर्फिन ४९ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मजगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







