काठमाडौँ । नागरिकतामा उल्लेखित उमेरका आधारमा अनिवार्य अवकाशको उमेर हद पार गरेको ठहर भएपछि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी पदबाट बाहिरिएका छन्।
प्रशासन सिंहदरबार उच्च स्रोतका अनुसार रेग्मीले नियुक्तिका क्रममा पेस गरेका नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेरसम्बन्धी विवरण फरक देखिएको थियो। प्रचलित कानुनी व्यवस्थाअनुसार उमेर निर्धारणका लागि पेस गरिएका कागजातमध्ये जुन आधारमा पहिले अवकाश उमेर पुग्ने देखिन्छ, सोही आधारलाई मान्यता दिने व्यवस्था छ।
सोही व्यवस्था अनुसार नागरिकतामा रहेको विवरणका आधारमा रेग्मीले ६५ वर्षको उमेर पूरा गरिसकेको निष्कर्ष निकालिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोक सेवा आयोगलाई आवश्यक पत्राचार गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार नागरिकतामा उल्लेखित उमेर र शैक्षिक प्रमाणपत्रमा रहेको जन्ममितिबीच फरक पर्दा उमेर गणनामा समेत अन्तर देखिएको थियो। शैक्षिक प्रमाणपत्रमा स्पष्ट जन्ममिति उल्लेख हुने भए पनि नागरिकतामा रहेको विवरणका आधारमा उमेर गणना गर्दा वर्षका हिसाबले मान्यता दिइने र सोही आधारमा रेग्मीको उमेर पहिले नै ६५ वर्ष पुगेको देखिएको हो।
लोक सेवा आयोग स्रोतका अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रबीचको उमेर अन्तर करिब ८ देखि १० महिनासम्म रहेको पाइएको छ। यही आधारमा नागरिकतामा उल्लेखित विवरणलाई मान्यता दिँदै अवकाशसम्बन्धी प्रक्रिया अघि बढाइएको बताइएको छ।
संवैधानिक निकायका पदाधिकारीका हकमा ६५ वर्ष उमेर पूरा भएपछि पदावधि स्वतः समाप्त हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रेग्मी पदबाट बाहिरिएको स्रोतको भनाइ छ।
यद्यपि, यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा लोक सेवा आयोगले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेका छैनन्।







