काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि रु. ५६ करोड ४ लाख २० हजार ७ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१औँ गाउँभाबाट बजेट पारित भएसँगै रघुगंगा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने नेपालकै पहिलो गाउँपालिका बनेको छ।
गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गरेको बजेटमाथि छलफलपछि गाउँसभाले अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ। संघीय तथा प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी तथा चालू आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकमलाई स्रोतका रूपमा समेटेर बजेट तयार गरिएको हो।
पारित बजेटमध्ये चालूतर्फ रु. ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगततर्फ रु. १८ करोड २ लाख विनियोजन गरिएको छ। गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ३१ लाख, ससर्त अनुदानतर्फ रु. २२ करोड ७४ लाख, विशेष अनुदानतर्फ रु. १ करोड ५० लाख तथा समपूरक अनुदानतर्फ रु. ७० लाख प्राप्त हुने अनुमान गरेको छ। यसरी संघीय सरकारबाट कुल रु. ३४ करोड ३५ लाख बजेट प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यसै गरी, गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान रु. १ करोड १ लाख ७ हजार, समपूरक अनुदानतर्फ रु. ६० लाख र विशेष अनुदानतर्फ रु. ३९ लाख ९८ हजार समावेश गरिएको छ। बजेटमा संघीय सरकारको राजस्व बाँडफाँटबाट रु. १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु. १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फ रु. १ करोड ५ लाख तथा चालू आर्थिक वर्षमा खर्च नभई बाँकी रहने रु. ७ करोड ७६ लाख रकमलाई पनि स्रोतका रूपमा समेटिएको छ।
क्षेत्रगत रूपमा पूर्वाधार विकासतर्फ रु. १३ करोड ४५ लाख ७२ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु. १४ करोड २१ लाख ५१ हजार, सामाजिक विकासतर्फ रु. २६ करोड ६९ लाख ७० हजार, आर्थिक विकासतर्फ रु. १ करोड ५६ लाख २७ हजार ७ सय तथा वन, वातावरण तथा विपत् व्यवस्थापनतर्फ रु. ११ लाख बजेट विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सामाजिक सेवा, सुशासन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।







