काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आफूले प्रवाह गर्ने सेवा तथा सार्वजनिक सरोकारका विषयमा नागरिकका गुनासा, सुझाव र प्रतिक्रिया संकलन गर्न ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।
नागरिकले मन्त्रालयसँग सम्बन्धित सेवा तथा पूर्वाधार विकासका विषयमा देखिएका समस्या, गुनासा वा सुझाव निःशुल्क फोन सेवा ११२०, फोन तथा ह्वाट्सएप नम्बर ९८५१४३१०६० मार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
यस्तै, इमेल ठेगाना ‘हेलो पूर्वाधार एट जिमेल डट कम’ तथा मन्त्रालयका सामाजिक सञ्जालमार्फत पनि गुनासा र सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले ‘तपाईँको गुनासो, हाम्रो चासो’ भन्ने नारासहित सञ्चालनमा ल्याइएको यस सेवामार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरेको जनाएको छ।







