काठमाडौँ। वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए ।
बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।









