काठमाडौँ । ‘ओआरएस’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नभएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विराटनगर कार्यालयले अनुगमन क्रममा झापा अर्जुनधारा–५ स्थित ‘फ्रुट एग्रो प्रोडक्ट प्रालि’ ले उत्पादन गरेको ‘ओआरएस’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नभएको पाइएको हो ।
सरकारले यस्ता पेय पदार्थमा कम्तीमा १० प्रतिशत फलफूलको रस हुनुपर्ने मापदण्ड तोके पनि उक्त उद्योगले रसविनाकै गुणस्तरहीन झोल बेचेर उपभोक्ता ठगिरहेको तथ्य बाहिरिएको हो ।
मापदण्ड विपरीत उत्पादन भेटिएपछि अनुगमन टोलीले ४ सय ९८ कार्टुन म्यांगो ड्रिंक र २ सय ५० कार्टुन अरेन्ज ड्रिंक गरी कुल ४ लाख ९२ हजार १ सय ३२ रुपैयाँ बराबरको उत्पादन विभिन्न निकायको रोहबरमा नष्ट गरेको विभागले जनाएको छ ।






