काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्य योजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
बुधवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यता बमोजिम आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसैगरी, अवरोध भएका राजमार्ग सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालक सहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सात वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधनहरू चल्न नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनको लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद् सम्बन्धी पूर्व सूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ ।
बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गरेको छ । भारत सरकारको प्रतिबद्धता अनुसार आउन बाँकि बेल ब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्रीको अभाव हुन नदिन निजी क्षेत्र, संघ, संस्था, नागरिक समाज लगायतसँग सहकार्य गरी ड्रोन एशोसियशन, नेपाल एशोसियशन अफ र्याफ्टिङ् एजेन्सिज् लगायतलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ।






